रास्वपाको समानुपातिक बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । पुस १४ गते आयोगमा बुझाइएको ११० जनाको बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा राम्रो अंक ल्याएका उम्मेदवारलाई पछाडि पारेर कमजोर अंक ल्याएकालाई अग्रस्थानमा राखिएको भन्दै पार्टी सदस्यहरूले विधि र विधानको उल्लंघन भएको आरोप लगाएका छन् ।
एक पार्टी सदस्यले आन्तरिक मूल्यांकन र प्राइमरी निर्वाचनको नतिजा माग्दा नेतृत्वबाट पार्टी छोड्न धम्की आएको गुनासो गरे । ‘विधि र पारदर्शिताको कुरा गर्ने पार्टीमै तानाशाही देखियो,’ ती सदस्यले भने, ‘प्राप्ताङ्क माग्दा समानुपातिक सूचीबाट राजीनामा दिन र महाधिवेशनअघि नै पार्टी छोड्न दबाब दिइयो ।’
रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन आह्वान गरेको थियो । पुस ५ गतेसम्म ४१८ जनाले आवेदन दिएका थिए । तर आदिवासी जनजाति कोटाबाट पहिलो नम्बरमा रहेकी टासी ल्याजोम शेर्पालाई हटाएर सहकोषाध्यक्ष बसुमाया तामाङलाई अगाडि ल्याउन खोजिएको आरोप उठेको छ । शेर्पाले आफूले बन्दसूचीबाट नाम फिर्ता नलिएको बताउँदै सञ्चारमाध्यमबाट नाम हटाइएको थाहा पाएको प्रतिक्रिया दिइन् ।
उनले आफूलाई फ्री टिबेट, दलाई लामा र तिब्बती पक्षधरसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन् । यस्तै, आन्तरिक प्रतिस्पर्धामा उच्च अंक ल्याएकी रञ्जु दर्शना, कुसुम श्रेष्ठलगायत नेतृहरूलाई अन्याय गरिएको गुनासो पनि पार्टीभित्र उठेको छ ।
यसैबीच, बन्दसूची प्रक्रियामा अनियमितता भएको भन्दै केन्द्रीय अनुशासन आयोगमा १३ बुँदे ध्यानाकर्षण पत्र दर्ता गरिएको छ । ध्यानाकर्षण पत्रमा उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी, अलोकतान्त्रिक र पहुँचमुखी भएको आरोप लगाइएको छ । अनलाइन मतदान प्रणाली, समयसीमा थप, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट र समावेशितामाथि गम्भीर प्रश्न उठाइएको छ ।
नेतृत्वबाट धम्की आएको विषयमा सहमहामन्त्री विपिनकुमार आचार्यले आफू अनभिज्ञ रहेको बताए । उनले प्रश्न गरेकै आधारमा धम्की आउनु गम्भीर विषय भएको उल्लेख गरे । यद्यपि समानुपातिक बन्दसूचीमा त्रुटि नभएको जिकिर गर्दै उनले प्राइमरी निर्वाचन मात्र मूल्यांकनको आधार नभएको स्पष्ट पारे ।
आचार्य स्वयं उम्मेदवार छनोट समितिका संयोजक रहेकै बेला समानुपातिक बन्दसूचीको खसआर्यतर्फ एक नम्बरमा परेपछि विवादमा तानिएका थिए । उनले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् ।
रास्वपाले बुझाएको बन्दसूचीमा प्रारम्भिक निर्वाचनमा राम्रो प्रदर्शन गरेका उम्मेदवारलाई पछाडि राखेर सेलिब्रेटी, व्यापारी र नयाँ अनुहारलाई अगाडि राखिएको भन्दै पार्टीभित्र र बाहिर विरोध चर्किएको छ । सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नेको संख्या बढे पनि निर्वाचन आयोग स्रोतका अनुसार अहिलेसम्म दुई जनाले मात्र औपचारिक रूपमा नाम फिर्ता लिएको पुष्टि भएको छ ।
पार्टीभित्र बढ्दो असन्तुष्टि र विवादका बीच रास्वपाले आगामी प्रत्यक्ष निर्वाचनका उम्मेदवार छनोट कार्यतालिका अझै सार्वजनिक गर्न सकेको छैन ।