महोत्तरीमा मतदाता नामावली अद्यावधिक, कुल मतदाता ४ लाख ३१ हजार नाघे
महोत्तरी — जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेसँगै जिल्लामा कुल मतदाता सङ्ख्या चार लाख ३१ हजार २८२ पुगेको छ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले महोत्तरी जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेको जानकारी दिँदै निर्वाचन क्षेत्र नं १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ४२२ महिला र अन्य दुई जना गरी जम्मा एक लाख पाँच हजार ६४६ मतदाता कायम भएको बताइन्।
उनका अनुसार निर्वाचन क्षेत्र नं २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला, निर्वाचन क्षेत्र नं ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला तथा निर्वाचन क्षेत्र नं ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ४५६ महिला मतदाता रहेका छन्।
नामावली अद्यावधिकका क्रममा जिल्लामा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्। यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० मतदाता रहेका थिए।
मतदान व्यवस्थापनतर्फ जिल्लामा हाल २५८ वटा मतदानस्थल र ५३६ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन क्षेत्रगत विवरणअनुसार क्षेत्र नं १ मा ५९ मतदानस्थल र १३० मतदान केन्द्र, क्षेत्र नं २ मा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ मतदानस्थल र १४२ मतदान केन्द्र तथा क्षेत्र नं ४ मा ६० मतदानस्थल र १३१ मतदान केन्द्र कायम भएका छन्।