प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
घेदुङले यही माघ ५ गते सोनाम ल्होछारका अवसरमा काठमाडौँमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउँदै उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भइदिन प्रधानमन्त्री कार्कीलाई अनुरोध गरिएको उनले बताए ।
घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसङ्ख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका थिए ।
त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन् ।