मशाल जुलुससहित सल्यान संगठनात्मक रूपमा अग्रस्थानमा
सल्यान । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा विभिन्न ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा सार्वजनिक गरिएको निर्वाचन बहिष्कार सम्बन्धी चरणबद्ध कार्यक्रम अन्तर्गत आज सल्यान जिल्लामा मशाल जुलुस आयोजना गरिएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा शारदा नगरपालिका-१ श्रीनगरमा सम्पन्न उक्त मशाल जुलुस केन्द्रीय कार्यक्रमको निरन्तरता स्वरूप गरिएको हो।
जिल्ला सेक्रेटरी उज्जवलको नेतृत्वमा सम्पन्न मशाल जुलुसमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरूको सहभागिता रहेको थियो। तोकिएको समयमै शान्त र व्यवस्थित रूपमा कार्यक्रम सम्पन्न गरिएको बताउँदै जिल्ला सेक्रेटरी उज्जवलले पछिल्लो समय केन्द्रीय कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने जिल्लाको रूपमा सल्यान अग्रपंक्तिमा आउन थालेको र यसले पार्टीभित्र जिल्लालाई थप परिचित गराउँदै लगेको बताएका छन्।
केन्द्रीय तहमा सम्मिलित ६ कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै संयुक्त संघर्ष समिति गठन गरेको सन्दर्भमा आजको कार्यक्रम आयोजना गरिएको हो।
उक्त समितिले पुस २६ र २७ गते पर्चा वितरण, पुस २८ गते देशव्यापी मशाल जुलुस, पुस २९ गते काठमाडौं उपत्यका बन्द तथा माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।
सल्यान जिल्लामा केन्द्रीय निर्देशनअनुसार कार्यक्रमहरू अनुशासित र योजनाबद्ध रूपमा कार्यान्वयन हुँदै आएका छन्। जिल्ला सेक्रेटरीसहित पार्टीका जिम्मेवारीमा रहेका जिल्लाका कमिटिका सदस्यहरू निरन्तर समन्वयमा रही संगठनात्मक गतिविधिमा सक्रिय देखिएका छन्, जसले जिल्लामा पार्टीको सांगठनिक संरचना थप मजबुत बन्दै गएको संकेत गरेको छ।
जिल्ला सेक्रेटरी उज्जवलका अनुसार सल्यान जिल्ला केन्द्रीय कार्यक्रम छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिल्लामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। आगामी दिनमा पनि केन्द्रीय संयुक्त संघर्ष समितिका निर्देशन अनुसार थप कार्यक्रमहरू जिल्लामा व्यवस्थित ढंगले अघि बढाइने जनाइएको छ।
