चार्टर फ्लाइटलाई ‘रेस्क्यु’ देखाएर बीमा ठगी, ६ जना पक्राउ
११ माघ, काठमाडौं । चार्टर फ्लाइटलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर विदेशी पर्यटकको बीमाबाट करोडौं रुपैयाँ ठगी गरिएको तथ्य खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा नियमित तथा चार्टर फ्लाइटलाई रेस्क्यु देखाएर बीमा रकम हत्याइएको प्रमाण फेला परेको हो।
सीआईबीले आइतबार लाजिम्पाटस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै अनुसन्धानको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो। सीआईबीका प्रमुख तथा निर्देशक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीले चार्टर फ्लाइटलाई समेत रेस्क्यु देखाएर बीमा रकम दाबी गरिएको बताए।
‘यो रेस्क्यु होइन, फेक रेस्क्यु हो,’ एआईजी केसीले भने, ‘नियमित फ्लाइटलाई समेत उद्धार देखाएर बीमा दाबी गरिएको छ। त्यसका लागि रेस्क्युको समय तालिका, यात्रु विवरण र बिलहरू नक्कली बनाइएको पाइयो।’
अनुसन्धानका क्रममा एउटै चार्टर फ्लाइटमा आएका पर्यटकलाई फरक–फरक समयमा उद्धार गरेको देखाएर (सिंगल फ्लाइट, मल्टिपल बिलिङ) बीमा दाबी गरिएकोसमेत खुलेको छ। पदयात्रा सकिएपछि पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमार्फत काठमाडौं ल्याएर नक्कली उद्धार देखाउने गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार विदेशी पर्यटकलाई लक्षित गरी केही ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर रेस्क्यु कम्पनी, अस्पताल र पर्यटक गाइडहरूको अवैध मिलेमतोमा यस्तो ठगी हुँदै आएको पाइएको छ। पछिल्लो पटक १ पुस २०८१ र यसअघि १२ असोज २०८२ मा पनि नक्कली उद्धारसम्बन्धी उजुरी सीआईबीमा परेको थियो।
सन् २०२२ देखि यता भएका फेक रेस्क्युको अनुसन्धानका क्रममा सीआईबीले छुट्टै कार्यदल बनाएर साढे दुई महिनासम्म अनुसन्धान गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा संलग्न भएको आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन्।
सीआईबीका अनुसार यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरिएको भेटिएको छ। माउन्टेन रेस्क्यु कम्पनीले २०२२ देखि २०२५ सम्म १ हजार २४८ जनाको उद्धार गरेको देखिएकामा १७१ जनाको उद्धार नक्कली रहेको पाइएको छ। त्यसवापत कम्पनीले १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बीमा रकम लिएको देखिएको छ।
त्यसैगरी नेपाल चार्टर सर्भिसले ४१७ जनाको उद्धारमध्ये ७५ जनाको नक्कली उद्धार गरेको र ८२ लाख ३४ हजार ८२ डलर बीमा रकम बुझेको पाइएको छ। एभरेस्ट एक्सपेरियन्सले ६०१ जनाको उद्धार गरेको देखिए पनि ७१ जनाको उद्धार नक्कली रहेको र ११ लाख ५३ हजार ९१९ डलर बीमा रकम लिएको सीआईबीको भनाइ छ।
हालसम्मको अनुसन्धानबाट यी तीन कम्पनीले मात्रै नक्कली उद्धारमार्फत करिब १९.६९ मिलियन अमेरिकी डलर बीमा रकम हत्याएको सीआईबीले दाबी गरेको छ।
फेक रेस्क्यु बढेपछि बीमा कम्पनीहरूले प्रिमियमसमेत रोक्न थालेको सीआईबीले जनाएको छ। हाल तीनवटा बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोकेको बताइएको छ।
सीआईबीले पक्राउ परेकाहरूमाथि संगठित अपराध, ठगी, किर्ते, राज्यविरुद्धको कसुर, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। मुलुकी अपराध संहिताका विभिन्न दफाअनुसार उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
सीआईबीका अनुसार नक्कली उद्धारले नेपालको अन्तर्राष्ट्रिय छवि, प्रतिष्ठा र पर्यटन क्षेत्रमै गम्भीर असर पर्ने जोखिम देखिएको छ। यसले वास्तविक उद्धारको पर्खाइमा रहेका पर्यटकको ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।