कांग्रेस विशेष महाधिवेशनबाट अन्तरिम केन्द्रीय समिति चयन हुने
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टीको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने भएको छ।
महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनदेखि विधान संशोधनसम्म गर्न सकिने व्यवस्था गरिएको छ। यसैक्रममा कांग्रेसको चौधौँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति विघटन गरिने उल्लेख छ।
कार्यविधिअनुसार विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिनेछ। सो समितिले पुस २७ र २८ गते सम्पन्न महाधिवेशन वैधानिक रहेको विषय अनुमोदन गर्न सक्नेछ।
यसैगरी, निर्वाचनसम्बन्धी व्यवस्थामा विधानको धारा १७ को उपधारा १ अनुसार नियमित महाधिवेशन सम्पन्न नहुन्जेलसम्म विधानको धारा १६(१) बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकारभित्र रही महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा २१ अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ।
यस व्यवस्थाअनुसार बन्दसत्रको निर्णयका आधारमा महामन्त्री गगन थापासहित सभापति र केन्द्रीय समिति आगामी वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ। कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम सातामा तय गरिएको छ।