मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनको तयारी: थासाङ गाउँपालिकामा मतदान स्थल अनुगमन
मुस्ताङ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकास्थित मतदानस्थलहरूको स्थलगत अनुगमन सम्पन्न भएको छ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मीको संयुक्त टोलीले गाउँपालिकाका आठ मतदान केन्द्रमध्ये पाँचवटाको अनुगमन गरेको हो।
जिल्ला निर्वाचन अधिकारी ज्ञवालीका अनुसार अनुगमनको उद्देश्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको शान्तिसुरक्षा र वस्तुगत अवस्था मूल्याङ्कन गर्नु तथा मतदाताको संवैधानिक अधिकार सुनिश्चित गर्नु रहेको छ।
अनुगमनमा घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्रहरू समेटिएका छन्। बाँकी कालीगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली मतदानस्थलको अर्को चरणमा अनुगमन गरिने जानकारी दिइएको छ।
मुख्य निर्वाचन अधिकृत पौडेलले भने, “उम्मेदवार मनोनयन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र चिन्ह वितरणपछि मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन सुरु गरिएको हो।”
मुस्ताङ जिल्लामा पाँच पालिकामा ३९ मतदान केन्द्रस्थल रहेका छन्। यसअन्तर्गत मतदाता संख्या ११ हजार ३२८ रहेको छ। घरपझोङमा २,४९२, थासाङमा २,९०७, वारागुङ मुक्तिक्षेत्रमा २,०३९, लोघेकर दामोदरकुण्डमा १,५४२ र लोमान्थाङ गाउँपालिकामा २,०११ मतदाता छन्।
जिल्लाको माथिल्लो मुस्ताङमा यसअघि केही मतदान केन्द्रहरू मर्ज र नयाँ मतदान केन्द्रको व्यवस्था गरिएको छ। यसअघि जिल्ला सुरक्षा समितिले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्रका मतदानस्थलहरूको स्थलगत अनुगमन गरिसकेको छ।