कांग्रेसमा महाधिवेशन विवाद, देउवाले शीर्ष नेतासँग आकस्मिक छलफल बोलाए
काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएपछि पार्टीभित्र विवाद चर्किएको छ। विकसित परिस्थितिको समाधान खोज्न सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई आकस्मिक छलफलका लागि बोलाएका छन्।
जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर बसेका देउवाले पार्टीभित्र महाधिवेशनसम्बन्धी विवाद तीव्र बनेपछि शुक्रबार बिहान निजी निवास महाराजगञ्जमा शीर्ष नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।
देउवाको निजी सचिवालयका अनुसार कार्यवाहक सभापति खड्का देउवा निवास पुगेपछि थप नेताहरूलाई पनि छलफलमा बोलाइएको थियो।
कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बिहीबार नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको मिति तय गरेका थिए। तर संस्थापन पक्षले उक्त निर्णय अस्वीकार्य रहेको बताउँदै आएपछि पार्टीभित्र मतभेद सार्वजनिक रूपमा चर्किएको हो।
महामन्त्रीद्वयले विशेष महाधिवेशन तोकेपछि नेपाली कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएको छ। सो बैठकअघि नै समस्या समाधान र सहमतिको प्रयासस्वरूप सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल थालेका हुन्।