पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लामा ८६ जनामा कुष्ठरोग पुष्टि
नेपालगन्ज — चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लामा ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ। साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन्।
७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मंगलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमा समेत कुष्ठरोग देखिएको जानकारी दिए। उनका अनुसार पहिचान भएका ८६ जनामध्ये ५७ पुरुष र २९ महिला रहेका छन्।
जिल्लागत विवरणअनुसार बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई तथा दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका छन्। यसका साथै १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालमा कुष्ठरोगको आशंकामा परीक्षण गरिएका ३४२ जनामध्ये ८६ जनामा रोग पुष्टि भएको हो। स्मियर परीक्षणमार्फत गरिएको परीक्षणमा ५६ जनामा पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ।
सोही अवधिमा अस्पतालको अन्तरङ्ग सेवाबाट ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन्। स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथामका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ। यस्तै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको प्रमुख थारुले बताए।
कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत तालिम दिइएको छ। त्यसैगरी २९ जना स्वयं सहायता समूहका सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ।
साथै १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई क्षमता अभिवृद्धि तालिम दिइएको छ। समुदायस्तरमा चेतना फैलाउने उद्देश्यले २२ वटा आमा समूहका करिब ६ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विद्यालयस्तरका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन्।
यसैगरी दुई क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। समुदायमै गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ। साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएको अस्पतालले जनाएको छ।
हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ। बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको र हालसम्म १३१ वटा अध्ययन नमूना संकलन भइसकेको प्रमुख थारुले बताए।
कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले कुष्ठरोगसम्बन्धी जनचेतना विस्तार र चुनौती सामना गर्न पत्रकारको भूमिका महत्वपूर्ण भएकाले अन्तरक्रिया आयोजना गरिएको बताए।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले कुष्ठरोगलाई समाजमा अझै पनि सामाजिक कलंकका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै यस्ता भ्रम चिर्न सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।
गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए, जसमा ९३ जना बाँके जिल्लाका थिए। गत आवको सोही अवधिमा ५८ नयाँ बिरामी भेटिएकामा यस वर्ष सोही अवधिमा यो संख्या बढेर ८६ पुगेको छ।
चौबिस शय्या क्षमताको साइनिङ अस्पतालमा हाल १४ जना बिरामी भर्ना भई उपचाररत रहेका छन्।