सर्लाहीमा उपचारका क्रममा किशोरीको मृत्यु, नवलपुर क्षेत्र तनावग्रस्त
सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।
आज लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा लालबन्दी नगरपालिका–२ पुनर्वास निवासी अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो।
मृतक किशोरीको परिवारले नवलपुरस्थित मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाहीपूर्ण ढङ्गले गलत शल्यक्रिया गरेकाले मृत्यु भएको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शल्यक्रिया लगत्तै किशोरीको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए, जसका कारण केही समय सवारी आवागमन प्रभावित भएको थियो।
सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरीले जनाएको छ।
किशोरीको उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।