रवि लामिछानेको स्वास्थ्य सामान्य, अस्पतालले भ्रम नफैलाउन आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार, यही माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। प्रारम्भिक औषधि उपचारबाट समस्या निको नभएपछि खुट्टामा सेलुलाइटिस देखिएको र माघ १३ गते उनी शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना भएका थिए।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईका अनुसार, लामिछानेको नशाबाट आईभी एन्टिबायोटिक्समार्फत उपचार भइरहेको छ।
यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालका नभएको स्पष्ट पार्दै अस्पतालले आम जनता र सञ्चारमाध्यमलाई भ्रममा नपर्न आग्रह गरेको छ।