गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति पद बहालीका लागि सानेपा पुग्दै
काठमाडौं, – नेपाली कांग्रेसको गत पुस २७–३० गते सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा पद बहालीका लागि जाने भएको छ।
सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार, पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू दिउँसो १ बजे सानेपा पार्टी कार्यालय पुग्नेछन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री, डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्रीमा चयन भएका थिए। यसरी १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।
२०७८ सालमा भएको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा र डा. शेखर कोइराला नेतृत्वको समूहले अस्वीकार गरेको थियो। अस्वीकार गर्दै दुवै समूह निर्वाचन आयोग र सर्वोच्च अदालतसम्म पुगेका थिए।
निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि देउवा र कोइराला समूहद्वारा दायर रिटमा अन्तरिम आदेश नदिएकोले कार्यसमिति पद बहालीका लागि केन्द्रीय कार्यालय जाने तयारीमा रहेको हो।