भोजपुरमा अवैध खयरको काठ बरामद, ५०० क्युफिट काठसहित अनुसन्धान सुरु
भोजपुरमा डिभिजन वन कार्यालयले अवैध रूपमा काटिएका खयरको करिब ५०० क्युफिट काठ बरामद गरेको छ। कार्यालयले गोप्य सूचनाका आधारमा रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो।
वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार, अनुगमनका क्रममा कुनै कानुनी प्रक्रिया नपुरा गरी काटिएका र अनुमतिबिना सङ्कलन गरिएको अवस्थामा खयरको रुख फेला परेको हो। बरामद काठको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ रहेको उनले बताए।
घटनास्थल दुर्गम र भौगोलिक रूपमा अप्ठ्यारो भएकोले प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको छ। अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र अनुसन्धानपछि प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही अघि बढाइने पनि डिभिजन वन कार्यालयले जनाएको छ।
वन कार्यालयले दुर्गम बस्ती, खोला किनार र सीमावर्ती क्षेत्र लक्षित गरी नियमित अनुगमन, गस्ती र आकस्मिक निरीक्षणलाई तीव्र बनाएको छ। अवैध काठको कारोबारले वातावरणीय सन्तुलनमा नकारात्मक असर र राज्यलाई आर्थिक क्षति पुर्याउने भएकाले यसलाई नियन्त्रण प्राथमिकतामा राखिएको छ।
स्थानीयहरूका अनुसार, बरामद काठले अवैध कारोबारमा संलग्न व्यक्तिलाई निरुत्साहित गर्ने र वन संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ। वन संरक्षणमा स्थानीयवासीको भूमिका महत्त्वपूर्ण भएकाले कार्यालयले अवैध गतिविधिबारे सूचना दिन सबैलाई आग्रह गरेको छ।