रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको म्याद पुनः थप गरिएको छ ।
भर्ना समिति रामेछापले निर्वाचन प्रहरीका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थप गरेको जिल्ला प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए । यसअघि प्रकाशित विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदनको समय थप गरिएको हो ।
रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक भए पनि हालसम्म ९०० जनाले मात्र आवेदन दिएका छन् । तीमध्ये आवेदन दिएका निर्वाचन प्रहरीलाई तालिम दिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक भट्टका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि सूचनामार्फत तोकिएका शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागी हुन छुट भएका तथा नयाँ आवेदन दिन चाहने उम्मेदवारलाई समेत माघ ११ गतेसम्म आवेदन दिने अवसर प्रदान गरिएको छ ।