दाङमा प्रहरी जवान मृत फेला, तनावमा रहेकाले आत्महत्या गरेको आशंका
दाङ — जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका-२ रामपुर निवासी जिसी माघ ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका थिए र तीन दिनसम्म बेपत्ता थिए।
उनको स्कुटी बाटोमा भेटिएको थियो भने खोजीमा घोराही उपमहानगरपालिका-१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्रोतका अनुसार, उनका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो र बिदा नपाउँदा जिसी तनावमा थिए।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार पोस्टमार्टम पूरा भइसकेको छ र मोबाइलको लक खुल्नेबित्तिकै मृत्युको कारण पुष्टि गरिनेछ।