रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत
१३ माघ, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।
उनको सचिवालयका अनुसार ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा देब्रे खुट्टामा लागेको सामान्य चोट पछि छालाको भित्री तहमा संक्रमण देखिएको हो।
चिकित्सकहरूको परीक्षण र सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखेर निगरानीसहित उपचार भइरहेको सचिवालयले जनाएको छ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किनु हुनेछ।”
साथै, अन्य बिरामीको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहज नहोस् भन्ने उद्देश्यले भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ।