डोल्पामा फेरि हिमपात सुरु, चिसो बढ्दा जनजीवन प्रभावित
१४ माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा फेरि हिमपात सुरु भएको छ।
माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षासँगै हिमपात सुरु भएको स्थानीयले बताएका छन्।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिकालगायत तल्लो डोल्पाका जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका तथा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात भइरहेको छ।
हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन्।
यद्यपि यो सिजनमा दोस्रो पटक भएको वर्षा र हिमपातले गहुँ, जौलगायत हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरूले भने राहत महसुस गरेका छन्।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई र सडक यातायातमा समेत प्रभाव परेको त्रिपुरासुन्दरी–१ का जुनबहादुर सार्कीले बताए।