पोस्टमार्टमपछि शव साटासाट, सिरहामा आक्रोश र राजमार्ग अवरुद्ध
१२ माघ, सिरहा — सिरहाको गोलबजार नगरपालिकामा पोस्टमार्टमपछि शव हेरफेर भएको गम्भीर घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ। माघ १० गते शनिबार गोलबजार नगरपालिका–३, जम्दह निवासी पूर्णबहादुर बानियाँकी करिब १६ वर्षीया छोरी निशा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान पठाएको थियो। सोही दिन पोस्टमार्टमका लागि अर्को किशोरीको शव पनि अस्पताल ल्याइएको थियो।
पोस्टमार्टमपछि अस्पतालबाट एउटा शव बाहिर निकालियो, जसलाई सप्तरीको खडक नगरपालिका–१, करर्बोना निवासी १६ वर्षीया राधिका साहको भन्दै उनका आफन्तले बुझेर दाहसंस्कारका लागि लगे। तर पछि दाहसंस्कार गरिएको शव राधिकाको नभई निशाको भएको खुलेको हो।
प्रहरीका अनुसार शनिबार शव अस्पताल पुर्याइए पनि परिवारका सदस्य नआएसम्म पोस्टमार्टम प्रक्रिया अघि नबढाइने जानकारी दिइएको थियो। सोमबार बिहान निशाका आमा–बुबा भारतको मुम्बइबाट आएपछि दिउँसो १ बजे पोस्टमार्टमको तयारी गरिएको थियो। तर त्यसक्रममा अस्पतालमा रहेको शव राधिकाको भएको पुष्टि भयो। साथै, राधिकाकै परिवारले निशाको शव दाहसंस्कार गरिसकेको तथ्य पनि बाहिर आएको छ।
यद्यपि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले निशाकै परिवारले शव बुझिसकेको र पछि मात्र आफ्नो नभएको दाबी गरेपछि शव हेरफेर भएको थाहा भएको प्रतिक्रिया दिएका छन्।
घटनाप्रति आक्रोशित स्थानीयवासी तथा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए। केही समय राजमार्ग अवरुद्धसमेत भएको थियो। प्रदर्शनकारीहरूले चिकित्सक र अस्पताल सञ्चालक समितिका अध्यक्षमाथि कडा कारबाहीको माग गरेका छन्।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले घटनामा दोषी देखिएका व्यक्ति वा निकायमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।