उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्च अदालत पुगे
नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।
टीकापुर घटनासँग सम्बन्धित उजुरीका आधारमा निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको थियो। आयोगले राष्ट्रपतिबाट माफी मिनाहा पाए पनि कसुर र कैदको अभिलेख कायम रहने भन्दै उम्मेदवारी रद्द गरेको जनाएको छ।
आयोगको निर्णय गैरकानुनी भएको दाबी गर्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ तथा निर्वाचन अधिकृतको निर्णय बदरको मागसहित रिट दायर गरेका हुन्। उनको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ।
रिट निवेदक चौधरीले आफ्नो उम्मेदवारी यथावत राखी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न माग गरेका छन्।
टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीले यसअघि राष्ट्रपतिबाट माफी मिनाहा पाएका थिए।