प्रकाश सपुत औपचारिक रूपमा राजनीतिमा, रास्वपाबाट चुनावी मैदानमा
काठमाडौं — गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्बिर सेयर गर्दै उनले आफ्नो राजनीतिक यात्राबारे जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा सार्वजनिक सन्देशमा सपुतले सबै नेपालीको राजनीतिक आस्था र विचारको सम्मान गर्दै, कसैलाई अपमान वा अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधनका लागि नयाँ राजनीतिक शक्तिको निर्माणमा खुलेर सहभागी हुने निर्णय गरेको उल्लेख गरेका छन्।
रास्वपामा प्रवेशलाई उनले आफ्नो जीवनको ‘कठोर निर्णय’को संज्ञा दिएका छन्। उनले लेखेका छन्, ‘मैले दुःख, संघर्ष, मिहिनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक–श्रोताको मन दुखाएर तपाईंहरूसँग हातेमालो गर्दैछु। पेशागत र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो।’
यद्यपि, आफ्नो निर्णय गलत सावित नहुने विश्वास व्यक्त गर्दै उनले कुनै एक दलमा आबद्ध भएकै कारण मन दुखाउने आफ्ना दर्शक–श्रोताको मन काम र इमानदारीमार्फत जित्ने दाबी गरेका छन्। ‘हामीसँगै देशले जित्नेछ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
रास्वपाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाश सपुतलाई समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ। हालै मेला–महोत्सवका सांगीतिक कार्यक्रमको टूर सम्पन्न गरेपछि उनी सक्रिय रूपमा चुनावी प्रचार–प्रसारमा जुट्ने पार्टीले जनाएको छ।