प्रचण्डद्वारा बालेनलाई स्थापित गराउन देशी–विदेशी शक्तिको लगानी भएको आरोप
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी तथा विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौँमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ का आधारमा लोकप्रिय बनाइने प्रवृत्तिलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानमा आधारित राजनीतिलाई पन्छाएर केवल चर्चाका लागि गरिने गतिविधिलाई प्रवर्द्धन गर्नु मुलुकका लागि हितकर नभएको बताए। उनले भने, “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्टको भरमा लोकप्रिय हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेका छन्।”
उनले भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायका मुद्दालाई वास्तविक रूपभन्दा प्रचारमुखी शैलीमा अगाडि बढाइएको भन्दै चिन्ता व्यक्त गरे। यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा राष्ट्र र जनताको हित नगर्ने उनको भनाइ थियो।
दाहालले देश र जनताको पक्षमा काम गर्न राष्ट्रिय तागतको निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताए। इतिहासको सम्मान र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्न कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रियालाई तीव्रता दिएको पनि उनले स्पष्ट पारे।
कम्युनिस्ट र देशभक्त शक्तिहरूको एकताले मात्रै मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने दाबी गर्दै दाहालले छरिएर रहेका अन्य शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।