हेटौँडा सडक विस्तार विवादमा सर्वोच्च अदालतमा सुनुवाइको पेसी
काठमाडौँ – हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सोमबार सुनुवाइका लागि पेसी तोकेको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले मुद्दामा सुनुवाइका लागि पेसी तोकेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिट यसअघि ६ पटक हेर्न नभ्याइने सूचीमा परिसकेको थियो। डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार प्रक्रिया अघि बढाएपछि स्थानीयहरूले मुआब्जा र सम्पत्तिको अधिकारको माग गर्दै मङ्सिर १६ गते सर्वोच्च अदालत पुगेका थिए।
सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
उक्त मुद्दामा मङ्सिर २६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीलाई कारण देखाउन आदेश जारी गरेको थियो भने न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘मिसिल झिकाउने आदेश’ पनि जारी गरेको थियो।