सङ्खुवासभामा जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाउने दुई जनाको हालसम्म पहिचान खुल्न सकेको छैन।
दुर्घटना भएपछि सशस्त्र प्रहरी नं. ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल र इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।