सादा पोशाकका दुई प्रहरी २ लाख घुससहित पक्राउ, ८२ प्रहरी हेडक्वार्टर तानिए
काठमाडौं, १३ माघ
लागुऔषध कारोबारीसँग २ लाख रुपैयाँ असुलेर छाडेको आरोपमा दुई जना सादा पोशाकका प्रहरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएको छ।
हिरासतमा पर्नेमा प्रहरी हवल्दार धीरेन्द्र विष्ट र प्रहरी जवान सुजन कार्की रहेका छन्। उनीहरू काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। रकम असुलेको प्रमाण फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
हवल्दार विष्ट यसअघि पनि विवादमा मुछिएका व्यक्ति हुन्। उनी २०७७ सालमा न्युरोडमा भएको १० लाख रुपैयाँको हुन्डी लुटपाट घटनामा जोडिए पनि पछि सफाइ पाएर पुनः सेवामा फर्किएका थिए। दागी ट्र्याक रेकर्ड हुँदाहुँदै उनलाई फेरि सादा पोशाकमा खटाइएको र पुनः आर्थिक अनियमिततामा संलग्न भेटिएको हो।
एसपी भट्टराईले भने, “कानुनको नजरमा सबै बराबर हुन्छन् भन्ने सन्देश दिन खोजिएको हो। प्रहरी नै भए पनि गल्ती गरेपछि उन्मुक्ति हुँदैन।”
सादा पोशाकका प्रहरी घुस, रकम असुली र अन्य अवैध गतिविधिमा पटक–पटक मुछिँदै आएपछि प्रहरी प्रधान कार्यालयले पछिल्लो समय कडाइ गरेको छ। सोही क्रममा हालसम्म ८२ जना प्रहरी कर्मचारीलाई हेडक्वार्टर झिकाएर छानबिन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए।
उनका अनुसार संगठनको नीतिविपरीत काम गरेका, आर्थिक अनियमिततामा जोडिएका तथा उजुरी परेका प्रहरीहरू छानबिनको दायरामा ल्याइएका हुन्। दोषी देखिएमा कसुरअनुसार विभागीय कारबाही गरिने र निर्दोष प्रमाणित भए कार्यक्षेत्रमै फर्काइने उनले बताए।
यसअघि २० पुसमा प्रहरी प्रधान कार्यालयले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कार्यरत ३२ जना प्रहरीलाई आवश्यक सर–सामग्रीसहित हेडक्वार्टर उपस्थित गराउन निर्देशन दिएको थियो। तीमध्ये अधिकांश मधेश प्रदेशमा कार्यरत थिए।
सादा पोशाकका प्रहरी बदनाम हुँदै गएपछि २०७९ सालमा डीआईजी टेकप्रसाद राईको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो। कार्यदलले सादा पोशाकमा खटिने प्रहरीको योग्यता, ट्र्याक रेकर्ड, कार्यअवधि (अधिकतम ४ वर्ष) र छुट्टै तालिम अनिवार्य गर्न सिफारिस गरेको थियो। तर ती सुझाव कार्यान्वयन नभएको देखिन्छ।
हाल पक्राउ परेका विष्ट स्वयं कार्यदलको सिफारिसअनुसार सादा पोशाकमा खटिन अयोग्य देखिने व्यक्ति हुन्। यसले कार्यदलको प्रतिवेदन बेवास्ता गर्दै सादा पोशाकमा प्रहरी परिचालन भइरहेको पुष्टि गरेको छ।
यसअघि २०८० चैत १५ मा तत्कालीन गृहमन्त्री रवि लामिछानेले अपराध अनुसन्धान शाखाबाहेक सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएका थिए। तर त्यसयता पनि बेथिति कायम रहेको प्रहरीभित्रकै अधिकारीहरू स्वीकार गर्छन्।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार कतिपय प्रहरी ट्राफिक तालिम नै नलिई ट्राफिक ड्युटीमा खटिएकोसमेत भेटिएको छ। विशेषगरी तराईका जिल्लाहरूमा यस्तो समस्या बढी देखिएको उनले बताए।
सादा पोशाकका प्रहरीप्रति बढ्दो अविश्वास, लगातार उजुरी र पछिल्ला घटनाले नेपाल प्रहरीभित्र संरचनागत सुधार र कडाइ आवश्यक रहेको संकेत गरेको छ।