हिमपातपछि मध्यपहाडी लोकमार्ग सञ्चालनमा, फसेका सवारीसाधन गन्तव्यतर्फ
बागलुङ — हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ। बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएपछि लोकमार्ग अवरुद्ध बनेको थियो।
लोकमार्गमा बाक्लो हिउँ जम्दा साना तथा ठूला सवारीसाधन ठप्प भएका थिए। पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।
लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पा लगायतका गन्तव्यतर्फ छुटेका सवारीसाधन बीच बाटोमै फसेका थिए। हिउँमा गाडी फसेपछि चिसो मौसमका कारण यात्रुहरू बिचल्लीमा परेका थिए।
जेसिबी प्रयोग गरी हिउँ पन्छाएपछि लोकमार्गमा सवारी आवागमन पुनः सुरु भएको प्रहरीले जनाएको छ। पातीहाल्नेसहित बागलुङका निसीखोला, ढोरपाटनलगायतका माथिल्ला क्षेत्रमा पनि हिमपात भएको छ।
हिमपातका कारण ती क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको छ।