मोटरसाइकल चोरी गरी मकवानपुर लैजाँदै गरेका दुई जना पक्राउ
काठमाडौँ । भक्तपुरबाट मोटरसाइकल चोरी गरी मकवानपुरतर्फ लैजाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको भट्टेडाँडाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–७ स्थायी घर भई हाल ललितपुरको भैंसेपाटी बस्दै आएका २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुरको सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ रहेका छन्।
आइतबार भट्टेडाँडा स्थित जगुमाया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपछि उनीहरूलाई पछ्याएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतले जानकारी दिए।
उनीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा.३६ प ७९०८ नम्बरका दुई वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानबाट ती मोटरसाइकल भक्तपुरबाट चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जगाती, भक्तपुरमा बुझाइएको छ।