म्याग्दीमा हिमपात, जनजीवन र पर्यटन प्रभावित
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएको छ।
धवलागिरी–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालका अनुसार बिहानैदेखि निरन्तर हिमपात भइरहेको छ। राति परेको पानीसँगै करिब दुई इञ्च बाक्लो हिउँ जमेको छ।
समुद्री सतहदेखि करिब २,७०० मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ। स्थानीय बासिन्दा घरभित्रै आगो तापेर बसेका छन् भने गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर पालन पोषण गरिरहेका छन्।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा पनि हिमपातले छोपिएको छ। घोडेपानीका होटल व्यवसायी मिना पुनका अनुसार हिमपात सुरु भएपछि पर्यटक चहलपहल घट्दा क्षेत्र सुनसान भएको छ।
यो वर्षको दोस्रो हिमपात हो। म्याग्दी जिल्लाभर वर्षा भएको छ, जसले हिउँदे बाली र कृषिलाई फाइदा पुर्याएको छ। मालिका गाउँपालिका–७ का कृषक भुपेन्द्र शर्माले भने, “सुख्खा जमिन भिजेर बिरुवाले आवश्यक पोषक तत्व पाउँछन्। वर्षाले गहुँ, जौ, केराउ र सुन्तलाजस्ता फलफुल खेतीमा सहयोग गरेको छ।”