पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आज पेसी
काठमाडौँ – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौँमा आज सुनुवाइका लागि पेसी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीमाथि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा गत जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।
आयोगका अनुसार सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा २०७४ माघ ७ देखि २०७९ माघ १० सम्मको अवधिमा आफ्नो पदको दुरुपयोग गरी ठूलो परिमाणको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन्। आयोगको अनुसन्धानमा सो अवधिमा उनको पारिश्रमिक, बैंक ब्याज, कृषि आय, श्रीमती र छोराछोरीको पारिश्रमिक, सामाजिक सुरक्षा भत्तालगायतबाट जम्मा ८५ लाख ५१ हजार ३३४ रुपैयाँ ९२ पैसा मात्र आम्दानी भएको देखिएको छ।
तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी, चुनाव खर्चलगायतमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको आयोगले दाबी गरेको छ। आय र व्यय तुलना गर्दा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा स्रोत नखुलेको रहेको निष्कर्ष आयोगले निकालेको छ।
आयोगले सोडारीकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा खरिद गरिएको जग्गा, घर निर्माण तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।
विशेष अदालतमा दायर आरोपपत्रमा सोडारीमाथि भ्रष्टाचारको दोषसिद्धी भए कैद र जरिवाना गर्न, साथै सम्पत्ति विवरणमा वास्तविक विवरण नखुलाई झूटा विवरण पेश गरेको पाइए थप कारबाही गर्न माग गरिएको छ।