लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ सुरु
१३ पुस, बुटवल। बुद्ध जन्मस्थल लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिभल’ सुरु भएको छ। लुम्बिनी प्रेस क्लब भैरहवाले आयोजना गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धन र सीमापार समाचारका मुद्दामा बहस गर्नु रहेको छ।
फेस्टिभलमा भारतबाट ४० जनासहित दुई सयभन्दा बढी पत्रकारको सहभागिता रहेको छ। उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस्ता फेस्टिभलले नेपाल–भारतबीच पर्यटकीय, सांस्कृतिक र धार्मिक सम्बन्ध मजबुत बनाउन योगदान दिने बताए।
मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्राएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने पनि उल्लेख गरे।
फेस्टिभलअन्तर्गत ‘सीमापार सम्बन्ध: आवश्यकता र सम्भावना’, ‘लुम्बिनी: लगानी र पर्यटनको सामर्थ्य’, र ‘पत्रकारितामा प्रश्न: जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुने आयोजक दीपेन्द्र बडुवालले जानकारी दिएका छन्।