चिनियाँ राजदूत सोङद्वारा राष्ट्रपति पौडेलसँग बिदाइ भेट
नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
राष्ट्रपति पौडेलले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन राजदूत सोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए।