२२ वटा रुग्ण सिँचाइ ठेक्का तोडिए, १४ अर्ब २३ करोडको सम्झौता रद्द
काठमाडौँ । काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएका छन् । तोडिएका ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधामअन्तर्गतका १५ र सुनकोसी–मरिन आयोजनाको १ ठेक्का छन् । भेरी–बबई आयोजनाको १ करोड ७६ लाख र जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरका ठेक्का रद्द गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्देशनपछि काम नगरी आयोजना अलपत्र पार्ने ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल २१५ चालू ठेक्कामध्ये ३३ समस्याग्रस्त रहेकामा २२ वटा ठेक्का तोडिइसकेको छ ।
यसैबीच सिँचाइ क्षेत्रकै सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पनि रद्द गरिएको छ । बाँध, विद्युतगृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि पटेल–रमण जेभीसँग गरिएको १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) को ठेक्का सम्झौता तोडिएको विभागले जनाएको छ ।