अर्घाखाँची कांग्रेसले माघ–फागुन निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्यो
अर्घाखाँची, १९ माघ – नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष तथा समानुपातिक) निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ ८, समानुपातिकतर्फ ६ र राष्ट्रियसभाका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। आकांक्षी धेरै भएका कारण केन्द्रीय मापदण्डभन्दा बढी उम्मेदवार सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए।
प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवतीप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोख्रेल, महाधिवेशन प्रतिनिधि डा मुिक्तराम श्रेष्ठ, डा जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ र पार्टी उपसभापति बाबुराम पौडेल रहेका छन्।
समानुपातिकतर्फ सिफारिस हुने उम्मेदवारमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णुप्रसाद अर्याल रहेका छन्।
राष्ट्रियसभाका लागि पूर्व सांसद डा रामबहादुर विसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र कांग्रेस पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको नाम सिफारिस गरिएको छ।
जिल्ला सभापति श्रेष्ठका अनुसार अब सिफारिस भएका नामहरू केन्द्रीय समितिको अन्तिम स्वीकृति पश्चात् निर्वाचन प्रक्रियामा प्रस्तुत गरिनेछ।