खगेन्द्र कर्ण रास्वपाको समानुपातिक सूचीमा, मधेसी क्लष्टरबाट दोस्रो स्थान
काठमाडौं, १५ पुस । नेपाली कांग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको उम्मेदवार बनेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवार सूचीमा कर्ण मधेसी क्लष्टरअन्तर्गत पुरुषतर्फ दोस्रो स्थानमा रहेका छन्।
कर्ण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट व्यक्तिका रूपमा चिनिन्छन्। पेशाले इञ्जिनियर कर्ण यसअघि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार बनेका थिए।
कांग्रेस परित्याग गर्नुको कारणबारे अनलाइनखबरसँग कुरा गर्दै कर्णले पार्टीभित्र युवाको उचित मूल्यांकन नहुने आरोप लगाए। उनले भने, “कांग्रेसमा युवाको मूल्यांकन हुँदैन, पैसावालाको बोलवाला हुन्छ। त्यसैले कांग्रेसमा नबस्ने निर्णय गरेर फरक बाटो रोजें।”
सप्तरी–१ का स्थायी बासिन्दा कर्ण पछिल्लो समय वैकल्पिक राजनीतिमा सक्रिय हुँदै आएका छन्।