गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
रुपन्देहीमा प्रहरीको जवाफी फायरिङपछि पक्राउ परेका भारतीय लागूऔषध कारोबारीमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अनुसन्धान सुरु गरेको छ।
सुक्रवार दिउँसो मायादेवी गाउँपालिका–५, गुवानिया चोक नजिक लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ब्राउन सुगर, एक थान पेस्तोल र दुई राउन्ड गोलीसहित भारतको उत्तर प्रदेश, अमेठी निवासी अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा खानले प्रहरीमाथि पेस्तोल ताक्दै कार्यसम्पादनमा अवरोध गरेपछि प्रहरीले आत्मरक्षाका लागि जवाफी फायरिङ गरेको थियो। फायरिङका क्रममा उनको देब्रे खुट्टाको पिँडौलामा गोली लागेको थियो।
घाइते खानको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखी लागूऔषध, अवैध हतियार तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई जानकारी दिए।