बुद्धनगरमा पुरुषद्वारा आत्मदाहको प्रयास, उपचार जारी
काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा एक पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आत्मदाहको प्रयास गर्ने व्यक्ति ४५ वर्षीय अश्विन राउत रहेको खुलेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल लगाइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार राउतको आफ्नै छोरासँग विवाद भएपछि उनी भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए।
वीर अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। हाल उनको अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।