ललितपुरको ठैवबाट ७ जना जुवाडे पक्राउ, ७ लाखभन्दा बढी नगद बरामद
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ। जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
खोटाङ स्थायी घर भई हाल ठैवमा बस्दै आएकी २९ वर्षीया सङ्गीता कार्कीको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा जुवा खाल सञ्चालक सङ्गीता कार्की सहित युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल रहेका छन्।
प्रहरीले जुवाडेहरूले प्रयोग गरेका ५ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।