मजदुरको हडतालका कारण साझा यातायात सेवा बन्द
काठमाडौं । मजदुरहरूले विभिन्न माग राख्दै हडताल गरेपछि आज बिहानैदेखि साझा यातायातको सेवा ठप्प भएको छ।
साझा यातायातका चालक तथा सहचालकले हडताल आह्वान गरेपछि सार्वजनिक यातायात सेवा प्रभावित भएको साझा यातायातका एक अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यालयका स्टाफहरू बिहानैदेखि विभिन्न मागसहित हडतालमा उत्रिएका हुन्।
यद्यपि हालसम्म मजदुरहरूको मागबारे औपचारिक जानकारी नआएको ती अधिकारीले बताए। उनले मजदुरका माग सम्बोधनका लागि सम्बन्धित पक्षबीच छलफल भइरहेको जानकारी पनि दिए।
हडतालका कारण काठमाडौं उपत्यकामा साझा यातायातमा निर्भर यात्रुहरू प्रभावित भएका छन्।