कुलमान घिसिङद्वारा वैकल्पिक शक्तिहरूको एकता र सहकार्यको आह्वान
१३ पुस, काठमाडौं। उज्यालो नेपाल पार्टीका संरक्षक तथा वर्तमान मन्त्री कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरू एक हुनुपर्ने बताएका छन्। सके एकता, नसके कार्यगत एकता गरेर भए पनि अघि बढ्नुपर्ने उनको धारणा छ।
आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले भने, “सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं।” उनले नेपाली जनताको चाहना पनि यही रहेको बताए।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र शाहबीच सातबुँदे सम्झौता भएको दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो। उनले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमान नघटाई सबैसँग सहकार्य गर्न तयार रहेको र गृहकार्य भइरहेको बताएका छन्। घिसिङले केही दिनमै सहकार्यको नतिजा आउने विश्वास व्यक्त गरेका छन्।