झापामा पछिल्लो तीन वर्षमा ७५ एचआईभी संक्रमितको मृत्यु, उपचाररतको संख्या बढ्दै
झापा, २२ मंसिर – झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७, २०७९/८१ मा २३ र २०८१/८२ मा ३५ जनाको मृत्यु भएको हो।
दासका अनुसार, उपचारमा आएका बिरामीमध्ये औषधि नखाने दर न्यून भएको भए पनि मृत्युदर बढेको देखिएको छ। चालु आर्थिक वर्ष साउनदेखि कात्तिक मसान्तसम्ममा झापामा २२ नयाँ एचआईभी संक्रमित फेला परेका छन्। तीमध्ये चार जनाले दमक अस्पताल र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन्।
झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन्। कूल संक्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका छन्। स्वास्थ्य कार्यालय र लवकुश आश्रमबाट १८ वर्षमुनिका बालबालिकालाई प्रतिमहिना एक हजार रुपैयाँ सहयोग प्रदान गरिँदै आएको छ।
कार्यालयका तथ्यांकअनुसार, आव २०७९/८० मा नयाँ ७० र पुरानो ६६३, आव २०७९/८१ मा नयाँ ७४ र पुरानो ७५०, तथा आव २०८१/८२ मा नयाँ ५६ र पुरानो ७८४ जना एचआईभी संक्रमित उपचाररत थिए।