रुसमा युक्रेनी ड्रोन आक्रमण: चारको मृत्यु, सात घाइते
मस्को। रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए।
क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले पछिल्ला महिनामा रुसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ। किएभले रुसी ऊर्जा संरचना तथा अन्य रणनीतिक लक्ष्यमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ।
मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभका अनुसार इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खस्दा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन्। सोही क्षेत्रको अर्को स्थानमा थप दुई जना घाइते भएको उनले टेलिग्राममार्फत जानकारी दिएका छन्।
भोरोब्योभले रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन खसालिएको दाबी गरेका छन्।
युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको अर्को ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन्।
यसैबीच, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा ड्रोन आक्रमणपछि एक औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले बताएका छन्। उनका अनुसार घटनास्थलमा तत्काल उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र उक्त घटनामा मानवीय क्षति भएको छैन।
‘क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम कायमै छ। सबैलाई सतर्क रहन आग्रह गर्दछु,’ गभर्नर भ्लादिमिरोभले बताएका छन्।
यसैबीच, युक्रेन युद्ध अन्त्यका लागि रुसमाथि थप दबाब बढाउने विषयमा छलफल गर्न युक्रेनका सहयोगी राष्ट्रहरू सोमबार पेरिसमा भेला हुँदैछन्।
अमेरिकाले इरानसँगको बढ्दो तनावमा आफ्नो ध्यान केन्द्रित गरेपछि युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वमा भइरहेको कूटनीतिक पहल पछिल्ला महिनाहरूमा सुस्त बनेको विश्लेषण गरिएको छ।