भारतमा फोहोरको थुप्रो खस्दा नौ कामदारको मृत्यु, १४ जनाको उद्धार
नयाँ दिल्ली। भारतको पश्चिमी क्षेत्रमा रहेको एक फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा भारी वर्षापछि फोहोरको विशाल थुप्रो खस्दा नौ जना कामदारको मृत्यु भएको छ। केन्द्र सञ्चालक कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो।
दुर्घटना गत बुधबार महाराष्ट्रको पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’ फोहोर प्रशोधन केन्द्रमा भएको थियो। नजिकै रहेको ल्यान्डफिल (फोहोर विसर्जन स्थल) बाट हजारौँ टन फोहोर खस्दा प्रशासनिक भवन पुरिएको थियो। त्यसबेला भवनभित्र रहेका २३ जना कर्मचारी फसेका थिए।
कम्पनीका अनुसार निरन्तरको वर्षाका कारण ल्यान्डफिल अस्थिर बनेपछि फोहोरको थुप्रो खसेर प्रशासनिक भवनमा क्षति पुगेको हो। घटनामा नौ जनाको मृत्यु भएको छ भने १४ जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ।
उद्धार टोलीले निरन्तरको वर्षाका कारण प्रतिकूल अवस्थामा उद्धार कार्य सञ्चालन गर्नुपरेको र भग्नावशेषमुनि फसेकाहरूको खोजी तथा उद्धारमा कठिनाइ भएको जनाएको छ।
घटनापछि संरचनागत तथा सुरक्षासम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्म रहने मनसुनका क्रममा भारी वर्षाका कारण भवन भत्किने, पहिरो जाने तथा पूर्वाधारमा क्षति पुग्ने घटनाहरू बारम्बार हुने गरेका छन्।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, अत्यधिक गर्मी तथा अन्य चरम मौसमी घटनाको आवृत्ति र तीव्रता बढ्दै गएको छ। मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ को प्रभावले भारतको मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन्।