खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण
इरान र अमेरिकाबिच जारी युद्ध थप चर्किँदै गएको छ। सप्ताहन्तदेखि सोमबारसम्म दुवै पक्षले एकअर्काविरुद्ध मिसाइल, ड्रोन र हवाई आक्रमण तीव्र बनाएका छन्।
इरानले खाडी क्षेत्रका विभिन्न अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ भने अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, मिसाइल क्षमता र सैन्य पूर्वाधारमाथि व्यापक आक्रमण गरेको जनाएको छ। यससँगै स्ट्रेट अफ होर्मुजको तनाव पुनः बढ्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले सोमबार जारी गरेको विज्ञप्तिमा बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधालाई निशाना बनाइएको जनाएको छ। साथै, ओमानमा रहेका रडार प्रणाली ध्वस्त पारिएको र जोर्डनको प्रिन्स हसन एयर बेसमा रहेका इन्धन भण्डारण ट्यांकी तथा हतियार गोदाममा सफल आक्रमण गरिएको दाबी गरिएको छ। यी कारबाही अमेरिकी सैन्य आक्रमणको जवाफस्वरूप गरिएको इरानको भनाइ छ।
अमेरिकी सेनाले आइतबार इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय रडार केन्द्र, मिसाइल र ड्रोन क्षमता तथा समुद्री क्षेत्रमा परिचालन गरिएका साना डुंगा लक्षित संयुक्त आक्रमण गरेको थियो। अमेरिकी सेनाले लडाकु विमान, युद्धपोत र ड्रोन प्रयोग गरेर ती कारबाही गरिएको जानकारी दिएको छ। पछिल्लो एक सातायता दुवै पक्षबीच आक्रमण तीव्र बन्दै गएको छ भने आक्रमण अन्य क्षेत्रमा समेत विस्तार भएको छ। यसले गत महिना भएको अस्थायी अमेरिका–इरान सहमति प्रभावहीन बन्दै गएको संकेत गरेको छ। उक्त सहमतिअनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने र थप ६० दिन वार्तामार्फत युद्ध अन्त्य गर्ने प्रयास गर्ने सहमति भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोयटर्ससँगको संक्षिप्त टेलिफोन संवादमा इरानविरुद्धका पछिल्ला आक्रमणबारे प्रतिक्रिया दिँदै अमेरिका इरानलाई कडा रूपमा परास्त गरिरहेको बताएका छन्। उनले युद्धविराम अब समाप्त भइसकेको धारणा व्यक्त गरे पनि भविष्यमा वार्ताको ढोका भने बन्द नभएको संकेत दिएका छन्।
उता इरानका प्रमुख वार्ताकार मोहम्मद बाकेर कालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अब एकपक्षीय सम्झौताको युग समाप्त भएको बताएका छन्। अमेरिका आफ्नो प्रतिबद्धतामा अडिग नरहे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी पनि उनले दिएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेपछि पश्चिम एसियाको सुरक्षा अवस्था लगातार बिग्रँदै गएको छ। त्यसयता इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरिरहेको छ। युद्धका क्रममा मुख्य रूपमा इरान र लेबनानमा हजारौँ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसैबीच, इरानले स्ट्रेट अफ होर्मुजमा प्रभावकारी नाकाबन्दी कायम राखेको दाबी गरेपछि विश्व ऊर्जा बजारमा नयाँ चिन्ता उत्पन्न भएको छ। विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको असर अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष देखिएको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य तीन प्रतिशतभन्दा बढीले बढेको छ। यद्यपि यो मूल्य युद्धको प्रारम्भिक चरणमा पुगेको उच्च स्तरभन्दा अझै केही तल रहेको छ।
इरानको रिभोलुसनरी गार्डले स्ट्रेट अफ होर्मुजमा नियमित जहाज आवागमन पुनः सुरु गर्ने एकमात्र उपाय अमेरिकी सैन्य हस्तक्षेप अन्त्य गर्नु रहेको जनाएको छ। अमेरिकाले हस्तक्षेप जारी राखे विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा अझ गम्भीर समस्या आउन सक्ने चेतावनी पनि इरानले दिएको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरानले ओमानसँग मिलेर स्ट्रेट अफ होर्मुजको जहाज आवागमन व्यवस्थापन गर्ने संयुक्त संयन्त्र बनाउन खोजिरहेको जानकारी दिएका छन्। तर अमेरिकाले ओमानमाथि दबाब दिएकाले त्यससम्बन्धी छलफल प्रभावित भएको उनको आरोप छ।
स्ट्रेट अफ होर्मुजमा नियन्त्रण अहिले युद्धको प्रमुख मुद्दा बनेको छ। इरानले यस जलमार्ग प्रयोग गर्ने जहाजका लागि स्थायी अनुमति प्रणाली र शुल्क लागू गर्ने योजना अघि सारेको छ। शनिबार इरानले बिना अनुमति एक जहाजले जलमार्ग पार गर्न खोजेको आरोप लगाउँदै स्ट्रेट बन्द गरेको घोषणा गरेको थियो। आइतबार पनि मार्ग बन्द नै रहने र सुरक्षा अवस्था सामान्य भएपछि मात्र जहाज आवागमनका लागि अनुमति दिइने जनाएको थियो।
तर अमेरिकाले इरानले स्ट्रेट नियन्त्रण नगरेको दाबी गर्दै आफ्ना नौसैनिक बल अन्तर्राष्ट्रिय समुद्री आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न तैनाथ रहेको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा करिब २० वटा जहाजलाई सुरक्षा प्रदान गर्दै स्ट्रेट पार गराइएको छ। यद्यपि जहाजको गतिविधि निगरानी गर्ने प्रणालीहरूले जलमार्गमा आवागमन निकै न्यून देखिएको जनाएका छन्।
अमेरिकी नौसेनाको नेतृत्वमा रहेको संयुक्त सामुद्रिक सूचना केन्द्रले उच्च सुरक्षा जोखिमका बाबजुद ओमान नजिकको दक्षिणी समुद्री मार्ग दुवैतर्फको आवागमनका लागि खुला रहेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार शनिबार मात्र इरानका १४० सैन्य लक्ष्यमा आक्रमण गरिएको थियो। पछिल्ला तीन रातमा ३०० भन्दा बढी सैन्य संरचनालाई निशाना बनाइएको र त्यसको उद्देश्य स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर पार्नु रहेको अमेरिकी दाबी छ।
उता आईआरजीसीले सप्ताहन्तमा जोर्डनस्थित कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन भण्डारणस्थल ध्वस्त पारेको दाबी गरेको छ। त्यसैगरी कुवेतमा अमेरिकी रडार प्रणाली र रकेट प्रक्षेपण प्रणाली, ओमानमा अमेरिकी विमानवाहक युद्धपोतलाई सहयोग गर्ने इन्धन आपूर्ति संरचना तथा कतारमा रहेको अमेरिकी लडाकु विमान मर्मत केन्द्र र कमाण्ड सुविधा पनि आक्रमणबाट नष्ट गरिएको इरानले जनाएको छ।