देशभर एकै दिन विपद्का घटनामा ७ जनाको मृत्यु, १९ घाइते
काठमाडौं। देशभर आइतबार भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकै दिन ४४ जिल्लामा ५५ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार विपद्का घटनाबाट २५६ परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै पहिरोका घटना भएका छन्। आइतबार देशभर २० वटा पहिरोका घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते र ७० परिवार प्रभावित भएका छन्।
यस्तै, १५ वटा सर्पदंशका घटनामा ३ जनाको मृत्यु भएको छ। बाढीका १३ घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएका छन् भने ६९ परिवार प्रभावित भएका छन्।
आगलागीका ३ घटनामा १ जना घाइते भएका छन् भने ११ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। चरम वर्षाका कारण भएको क्षतिबाट करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
प्राधिकरणका अनुसार उक्त अवधिमा सडक अवरोध र चौपाया क्षतिका घटना भने दर्ता भएका छैनन्। विपद्का घटनापछि उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय परिचालन गरिएको जनाइएको छ।