जनसरोकारका मुद्दामा क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङको निरन्तर खबरदारी, कालोबजारी गरिए जनकारबाही गर्ने चेतावनी
उत्पीडित जनताको हकअधिकार र जनजीविकाका सवालमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति दाङले आफ्नो निरन्तरको खबरदारीलाई थप सशक्त रूपमा अगाडि बढाएको छ।
देशमा बढ्दो आर्थिक संकट, महँगी र जनविरोधी कदमहरूका विरुद्ध अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको पार्टीले दाङमा एक प्रेस वक्तव्य जारी गर्दै जनसरोकारका गम्भीर मुद्दाहरूमा राज्य र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको हो। पार्टीका जिल्ला सचिव मोतिराम खड्काद्वारा जारी वक्तव्यमा जनतालाई रैती बनाउने वर्तमान सरकारका नीति, सुकुम्बासीहरूमाथिको दमन, मिटरब्याजी तथा लघुवित्तको ठगी र बजारको कालोबजारीविरुद्ध पार्टीले सम्झौताहीन संघर्ष गर्ने दृढता व्यक्त गरिएको छ।
पार्टीले वर्षायामको सुरुवातमै सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई बिचल्ली बनाउने सरकारको अमानवीय कार्यको कडा शब्दमा भर्त्सना गर्दै सशक्त प्रतिवाद गरेको छ। भोका–नाङ्गा बालबालिका र नागरिकको गाँस, वासको न्यूनतम ग्यारेन्टीका लागि पार्टीले निरन्तर न्यायपूर्ण आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ। यसका साथै मिटरब्याज, लघुवित्त र बैंकहरूको चर्को शोषणका कारण गरिब जनता घरबारविहीन भइरहेको र जबरजस्ती खाली चेकमा सही गराएर जालसाजीपूर्वक जेल हाल्ने षड्यन्त्र भइरहेकाले सर्वसाधारणको रक्षाका लागि पार्टीले हरदम कडा कदम चाल्ने चेतावनी दिएको छ।खेतीपातीको मुख्य सिजनमा पनि किसानले मल नपाउनु र नयाँ बजेटमार्फत जनतामाथि अत्यधिक कर थुपारेर दैनिक उपभोग्य सामान समेत किन्न नसक्ने गरी महँगी बढाउनुले वर्तमान सरकारको जनविरोधी चरित्र पूर्ण रूपमा उदाङ्गो पारेको पार्टीको ठहर छ।
अन्तर्राष्ट्रिय युद्ध र संकटको बहानाबाजी गर्दै बजारमा ग्यास, डिजेल र पेट्रोलको कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य वृद्धि गर्ने प्रवृत्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीले कडा निगरानी थालेको छ। पार्टीले ग्यास डिलर, स्थानीय व्यवसायी र जिल्ला प्रशासन कार्यालयलाई तत्काल बजार व्यवस्थापन सहज बनाई आपूर्ति व्यवस्था सुचारु गर्न स्पष्ट माग गरेको छ।जनताको पीरमार्कालाई सधैँ आफ्नै समस्या ठानी निरन्तर पहरेदारी गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जिल्लाभर कतै पनि कृत्रिम अभाव र कालोबजारी गरिएको पाइएमा टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेको छ। जनविरोधी, शोषक र भ्रष्ट तत्वहरूलाई तह लगाई नागरिकको अधिकार सुरक्षित गर्न पार्टीले आम सर्वसाधारणको प्रत्यक्ष सहयोग र सहभागितामा कडा 'जनकारबाही' को प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
साथै पार्टीले आफ्ना न्यायपूर्ण र जनपक्षीय आन्दोलनहरूमा एकजुट भई लामबद्ध हुन सम्पूर्ण दाङबासी जनसमुदायमा हार्दिक आह्वान समेत गरेको छ।