गायत्री मन्दिर क्षेत्रमा बाढी तथा कटान रोकथामका लागि पर्खाल निर्माण सुरु
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मा कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गायत्री मन्दिर क्षेत्रलाई बाढी र कटानबाट जोगाउन आवश्यक संरचनात्मक काम सुरु गरिएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीको बाढीका कारण जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण सुरु गरेको हो।
आयोजना कार्यालयका इञ्जिनियर नरजङ गुरुङका अनुसार राहुघाट नदीको किनारमा ५३ मिटर लम्बाइमा नदी सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी संरचना र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल निर्माण गरिनेछ।
उक्त योजनाको लागत अनुमान दुई करोड १३ लाख ६६ हजार आठ सय ७८ रुपैयाँ रहेको छ। निर्माणका लागि २०८२ भदौ ४ गते एक करोड ४२ लाख ५३ हजार ६ सय ४६ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ। ठेक्काको अवधि अनुसार आगामी २०८३ असार २५ गतेभित्र योजना सम्पन्न गरिनेछ। हाल निर्माण कम्पनीले राहुघाट नदीलाई डाइभर्सन गरी पर्खाल निर्माणको काम सुरु गरिसकेको छ।
गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रूपमा परिचित धार्मिक स्थल हो। यहाँ साधु–सन्तहरू ध्यान तपस्याका लागि आउने गर्छन् भने मन्दिरसँगै उद्यान र धर्मशाला पनि रहेको छ। धर्मशालामा मुक्तिनाथ जाने तीर्थयात्रीहरूको बसोबासको व्यवस्था गरिएको छ।
यसैबीच, यस वर्ष बेनी बजारसहित म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा कालीगण्डकी तथा अन्य नदी कटानबाट जोखिममा परेका बजार र बस्ती संरक्षणका लागि छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सुरु गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराका प्रमुख बिदुरमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती योजनाहरूको ठेक्का सम्झौता भइसकेको छ र निर्माण व्यवसायीहरू कार्यस्थलमा परिचालन भइसकेका छन्। ती आयोजनाहरूको कुल लागत अनुमान २० करोड २९ लाख ७६ हजार आठ सय ३९ रुपैयाँ रहेको छ।