प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनबारे छलफल
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा आज छलफल हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो हुने भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल सहभागी हुनेछन्। उक्त छलफल आगामी निर्वाचनका विषयमा केन्द्रित रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज बनाउँदै आगामी निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने उद्देश्यले सरकारले प्रमुख राजनीतिक दलहरूसँग निरन्तर संवाद र परामर्श गर्दै आएको मन्त्री खरेलले बताए।
सोही सन्दर्भमा शुक्रबार सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई उनीहरूको निवासमै पुगेर भेटवार्ता गरेका थिए। भेटका क्रममा नेताहरूले वर्तमान राजनीतिक निकासका लागि निर्वाचन नै एक मात्र विकल्प भएको भन्दै त्यसका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका थिए।
आजको छलफललाई निर्वाचनको तयारी र राजनीतिक सहमतिका दृष्टिले महत्वपूर्ण मानिएको छ।