नेप्से लगातार छैटौं दिन घट्यो, १७० अंक तल
काठमाडौं, २२ मंसिर – लगातार छैटौं कारोबार दिन नेपाल सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ३.०२ अंक घटेर २६०६ मा कायम भएको छ। गत मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो र विगत ६ दिनमा बजारले कुल १७० अंक गुमाइसकेको छ। राजनीतिक अस्थिरता र चुनावको अनिश्चितताका कारण लगानीकर्तामा विश्वास बढ्न सकेको छैन, जसले बजार घट्ने प्रमुख कारण बनेको विश्लेषकहरूले बताए।
सोमबार ९९ कम्पनीको शेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घट्यो र १२ कम्पनीको मूल्य स्थिर रह्यो। दिनभर बजार सामान्य उतारचढावमा रहे पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ६६ करोड रुपैयाँमा सीमित भयो।
समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। जलविद्युत् (०.१२%), जीवन बीमा (०.५०%), उत्पादन तथा प्रशोधन (०.६१%), निर्जीवन बीमा (०.०५%) र व्यापार (०.४१%) समूह बढेका छन्। तर बैंकिङ (-०.६७%), विकास बैंक (-०.११%), फाइनान्स (-०.५७%), होटल तथा पर्यटन (-०.२३%), लगानी (-०.१६%), माइक्रोफाइनान्स (-०.२९%) र अन्य (-०.२१%) समूह घटेका छन्।
चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरू हुन् – अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक। इङ्वा हाइड्रोपावर ९.०३% र पियोर इनर्जी ४.४% ले बढेको छ। सपोर्ट माइक्रोफाइनान्स (-५.१६%), मेन्छियाम हाइड्रोपावर (-३.७३%) र गुहेश्वरी मर्चेन्ट बैंक (-३.६८%) का शेयर मूल्य घटेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी रहेका छन्।