अख्तियारका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेरहदमा अवकाश
२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल ६५ वर्षे उमेरहद पुगेपछि सोमबारदेखि अवकाश भएका छन्। सिलवालले चार वर्ष १० महिना अख्तियारमा आयुक्तका रूपमा सेवा दिएका थिए। उच्च अदालत पोखराका कामू मुख्य न्यायाधीश पदबाट राजीनामा दिएपछि संवैधानिक परिषदले २०७७ फागुन २१ मा उनलाई अख्तियार आयुक्तमा सिफारिस गरेको थियो।
सोमबार अख्तियारमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई औपचारिक विदाइ गरे। उनी अवकाश भएपछि आयोगमा एक आयुक्तको पद रिक्त भएको छ। सार्वजनिक सेवामा ४१ वर्ष बिताएका सिलवाल करिब ११ वर्ष उच्च अदालतमा न्यायाधीश रहे। त्यसभन्दा अघि उनले २५ वर्ष त्रिभुवन विश्वविद्यालय तथा अन्य कलेजहरूमा कानून शिक्षण गरेका थिए। उनी काठमाडौं स्कूल अफ लका संस्थापक सदस्यहरू मध्ये एक पनि हुन्।