रोजेको मन्त्रालय नपरेपछि जनमतको चेतावनी: मधेश सरकारबाट बाहिरिन सक्ने संकेत
जनकपुरधाम, १ पुस।रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले मधेश प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। मन्त्रिपरिषद् विस्तारका क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। उक्त मन्त्रालयको जिम्मेवारी २१ गतेदेखि विनाविभागीय मन्त्री रहेका एकीकृत समाजवादीका कनिष पटेललाई दिइएको छ।
यस विषयलाई लक्षित गर्दै विगतमा जनमत पार्टीबाट सो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा पुगेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यस आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरिएको छ। तर भागबन्डाको नाममा उक्त मन्त्रालय अरूलाई दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्नु हो।”
उनले जनमत पार्टीको उद्देश्यअनुसार सरकारमा सुनिश्चितता नदेखिए पार्टी सरकारबाट बाहिरिन तयार हुनुपर्ने चेतावनी दिएका छन्। “जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनुपर्छ,” उनले उल्लेख गरेका छन्।
हाल सातदलीय गठबन्धनअन्तर्गत जसपा र जनमत बाहेकका दलहरू एक–एक मन्त्रालय लिएर सरकारमा सहभागी भइसकेका छन्। जनमत पार्टीले भने महत्त्वपूर्ण अर्थ मन्त्रालय लिएको छ। पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव हाल मधेश प्रदेशका अर्थमन्त्री रहेका छन्।