राप्रपा काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवार सिफारिसमा विवाद
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नम्बर १ मा पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पहिलो नम्बरमा राखेर फरक-फरक उम्मेदवार सूची सिफारिस भएपछि विवाद उत्पन्न भएको छ।
क्षेत्रीय कार्यसमितिबाट राणा, सोभित उप्रेती, प्रतिमा थापा श्रेष्ठ र रामेश्वर श्रेष्ठको नाम प्रत्यक्षतर्फ तथा जयन्तनाथ खनाल, रामेश्वर श्रेष्ठ, रिना शाही वली, पुष्कर जङ्गम, भीमसेन पुरी र अम्बिका अर्यालको नाम समानुपातिकमा सिफारिस भएको छ।
यता क्षेत्रीय सभापति रामेश्वर श्रेष्ठले आइतबार मिश्रसहित नाम रहेको सूची जिल्ला कार्यसमिति हुँदै केन्द्रीय कार्यालय पठाएका छन्। यो सूचीमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रामेश्वर श्रेष्ठ र राम तण्डुकार तथा समानुपातिकमा मीना सुवेदी, खिना शाही, सुमिरा कार्की र लक्ष्मी तन्दुकारको नाम सिफारिस भएको छ।
यसैबीच पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य एव मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाएर नहिँड्न चेतावनी दिए।श्रेष्ठले आफूसहितको उपस्थितिमा ११ सदस्यले गरेको निर्णय सार्वजनिक भइसकेको र मिश्र सिफारिसमा नपरेको बताएका छन्।
समिति सदस्य विनोद दुवडीले राणासहित प्रत्यक्षमा ४ जना र समानुपातिकमा डा. जयन्त खनालसहित ६ जना सिफारिस भएको जानकारी दिए। पहिलो नम्बरमा रहेका राणा उम्मेदवार नभए दोस्रो नम्बरका शोभित उप्रेती स्वत: उम्मेदवार बन्ने उनले बताए।